शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ‘रेडियोथेरापी’, ‘बोनम्यारो’ प्रत्यारोपण, र फार्मेसी विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

उनका अनुसार दैनिक दुई हजार २०० देखि दुई हजार ५०० बिरामी ओपिडीमा सेवा लिन आउने गर्दछन् भने आकस्मिक कक्षमा दैनिक १४० देखि १५० बिरामी आउने गरेका छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ वटा श्यया निःशुल्क प्रदान गरिएको उनले बताए ।

डा आचार्यले अस्पतालमा हालसम्म ९०० वटा मिर्र्गौला प्रत्यारोपण र १९ वटा कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिए । हाल अस्पतालमा ५८ वटा आइसियु, ९७ वटा ‘एचडियु बेड’ सञ्चालनमा छन् । वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिने गरेका छन् ।

विसं २०८१ को वैशाखदेखि चैतसम्म पाँच लाख ३२ हजार ४२० जना बिरामीले ओपिडी सेवा प्राप्त गरेका छन् भने ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएका छन् । सो अवधिमा २१ हजार १०६ वटा शल्यक्रिया सम्पन्न भएका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर आज विस्तारित सेवा भवनको उद्घाटन गरिएको छ । यसै अवसरमा अस्पतालले १५ श्ययाको ‘इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

विसं २०३८ मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालले २०४० सालको असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । हाल अस्पताल एक हजार ५० वटा श्ययामा सञ्चालित छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *