काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार जहाँ जहाँ पुगेको छ त्यहाँ त्यहाँ भ्रष्टाचार भएको दाबी गरेका छन् ।
उनले सरकारमा सहभागी मन्त्रीहरु नै सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डीलमा सहभागी भएको कुरा बाहिरिएको बताउँदै प्रधानमन्त्री ओलीको भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने नारालाई जनताले जाली ठानेको दाबी गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा आज संसद्मा सम्बोधन गर्दै प्रचण्डले आफ्नै क्याविनेटका मन्त्रीहरु घुस डिलमा सामेल भएपछि अब चित्रगुप्तलाई के जवाफ दिने ? भनेर प्रधानमन्त्री ओलीलाई सोधेका छन् ।
उनले भने,‘उहाँ प्रधानमन्त्रीले भन्नुभएको थियो चित्रगुप्तलाई बयान दिन तयार छु। यो अभिव्यक्ति पक्कै पनि प्रधानमन्त्रीले स्मरण गर्नुभएको होला। अहिले त जहाँ सरकार त्यहँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के जबाफ दिनुहोला ।’ उनले अहिलेको सरकार भ्रष्टाचारी र विचौलियाको संरक्षणको लागि बनेको यसको व्यवहारले पुष्टि गरिसकेको आरोप लगाए ।
