प्रधानमन्त्रीको बेडरुमसम्मै विचौलियाको पहुँच छ भन्ने कुरा आमजनतालाई थाहा भइसक्योः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दलाल र विचौलियाको स्वार्थमा चलेको बताएका छन् । उनले सरकार दलाल र विचौलियाहरुको स्वार्थपूर्तिमा नतमस्तक रहेको बताए । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाहरुको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको बताए ।

‘दलाल र विचौलियाहरुको पक्षमा सरकार नतमस्तक बन्यो । सरकार आज दलाल र विचौलियाहरुको स्वार्थपूर्तिमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेता कार्यकर्तामा समेत भाष्य बन्न पुगेको छ । प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाहरुको पहुँच छ भन्ने कुरा आम जनतालाई थाहा भइसकेको छ । संसदीय समितिबाट पारित विधेयकमाथि विचौलियाहरुले चलखेल गरे भनेर सत्तारुढ दलकै जिम्मेवार पदाधिकारीहरुले भनिरहुन भएको छ,’– उनले भने ।

साथै, उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए । ‘सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ । जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *