काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि सुधारमन्त्रीको घुस प्रकरणबारे सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रीहरुको घुस प्रकरण छानविनका लागि सरकारको ध्यानाकार्षण गराएका हुन् । ‘सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री र भूमि सुधारमन्त्रीको घुसको बारेमा सरकार किन मौन छ ? जवाफ चाहियो,’– उनले भने ।
साथै, उनले असार महिना सकिँदासमेत एक तिहाइमात्रै रोपाइँ भएको भन्दै तराईँलाई सुख्खा क्षेत्र घोषणाको माग गरे । नेता शर्माले तराईको चन्द्र नहर र पश्चिमी नहर मर्मतको लागि पनि सरकारको ध्यानाकर्षण गराए ।
‘कोशीबाट बनाइएका नहरहरु, चन्द्र नहर र पश्चिमी नहरहरु मर्मत नहुँदा पर्याप्त पानीको बहाव भइरहेको छैन । आवश्यक पूर्वाधार हुँदाहुँदै पनि त्यसको प्रयोग भइराखेको छैन । त्यतातर्फ म ध्यानाकर्षण गर्न चाहन्छु,’– उनले भने ।
