काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखक, भूमि सुधारमन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा माग गरेका छन् ।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको र भूमि सुधारमन्त्री अधिकारी र सामान्य प्रशासनमन्त्री गुप्ता घुस प्रकरणमा मुछिएको भन्दै उनले राजीनामा माग गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आरोपित मन्त्रीहरुलाई कानूनभन्दा पनि माथि बनाएर राख्न नमिल्ने बताए ।
‘प्रधानमन्त्रीज्यू घुसको डिल गर्ने, मानव तस्कर गर्ने मन्त्रीहरुलाई संरक्षण गर्ने अधिकार कसले दियो ? सदनले यसको जवाफ मागिरहेको छ । दुई तिहाइको बलमा शासन गर्ने सरकारले आफ्ना मन्त्रीहरुलाई कानूनभन्दा माथि राख्न मिल्छ ? गृहमन्त्री रमेश लेखक, भूमि सुधार मन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेको गम्भीर आरोपबारे किन छानविन गरिएको छैन ? यदि उनीहरु संविधानभन्दा माथि छैनन् भने तुरुन्त कारबाही गरियोस्,’– उनले भने ।
साथै, उनले संसारको लोकतान्त्रिक संसदीय अभ्यासको मान्यता विपरीत प्रतिपक्ष उभिएर विरोध गर्दा पनि सदन चलाइएको भन्दै उनले आपत्ति जनाए । उनले वर्तमान गृहमन्त्री रमेश लेखकले प्रतिपक्षमा भएको बेलामा सो कुरा राखेको पनि स्मरण गराए ।
