मधेश प्रदेशमा असारमै खडेरीः करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं। मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ। गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो। मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।

मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन्। मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्भावित खाद्य संकट र कृषकको क्षतिको मूल्यांकनका लागि राहत तथा अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। कृषि विशेषज्ञहरूका अनुसार यदि केही दिनभित्र पर्याप्त वर्षा नभए मधेश प्रदेशमा खाद्य संकट निम्तिन सक्ने खतरा रहेको छ।

मन्त्रालयका अनुसार देशभर हाल सम्म ५९ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अबधि सम्म देशभर ६७.७ प्रतिशत रोपाइँ भएको थियो। यसवर्ष रोपाइँ कम हुनुमा मधेश प्रदेशमा रोपाइँ हुन नसक्नुलाई मन्त्रालयले कारण मानेको छ।

मन्त्रालयका अनुसार देशभर १३ लाख ८३ हजार ७३२ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ सकिएको हो।

सूदूरपश्चिम प्रदेशमा हाल सम्म ९३.१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ८६ प्रतिशत धान रोपाइँ सकिएको थियो। सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म १ लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ सकिएको हो।

कर्णाली प्रदेशमा हाल सम्म ८३.२३ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ।

त्यसमध्ये हालसम्म करिब ३४ हजार हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ८६ प्रतिशत रोपाइँ सकिएको थियो।
लुम्बीनी प्रदेशमा हाल सम्म ७३.६८ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म लुम्बीनीमा ६६.७ प्रतिशत धान रोपाइँ भएको थियो। यस प्रदेशमा कुल ३ लाख २ हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ।

गण्डकी प्रदेशमा हाल सम्म ६६.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ६७.४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो। यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ।

बागमती प्रदेशमा हाल सम्म ७६.३१ प्रतिशत धान रोपाइँ भएको छ। गत वर्ष यस अवधि सम्म यहाँ करीब साढे ७०.६ प्रतिशत रोपाइँ भएको थियो। यस प्रदेशमा कुल १ लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको छ।

कोशी प्रदेशमा हाल सम्म ४१. ३२ प्रतिशत धान रोपाइँ सकिएको छ। यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ। यहाँ गतवर्ष यस अवधि सम्म ६१.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *