सामान्य प्रशासनमन्त्रीको घुस काण्डले तात्यो संसद्, सांसदहरुले मागे प्रधानमन्त्रीसँग जवाफ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस प्रकरण प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका छन् । अडिओमा मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यलय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासन मन्त्रीले विचौलियासँग ५३ लाख र भूमी आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख गरी ७८ लाख घुस डिल गरेको प्रष्ट छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ उक्त अडियोमा भनिएका ‘बा’ को हुन् ? भनी संसद्मा प्रश्न गरिने । उनले यस प्रकरणको सत्यतथ्य छानविनको माग गरिन् । ‘कास्कीको कार्यालयमा को पठाउनेमा घुस, जिल्लाको भूमि आयोगको अध्यक्षहरुमा सेटिङ । किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो । आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ । यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो रु अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?’ प्रश्न गर्दै उनले भनिन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य रेखा शर्माले सामान्य प्रशासन मन्त्रीको घुस काण्ड के भएको हो भन्ने प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरिन् । उनले यस प्रकरण छानविन गरी दोषी जो भए पनि कारबाही गरिनुपर्ने माग राखिन् ।

‘मिडियामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डिल गरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहन्छु । यसको छानविन गरेर दोषी जोसुकै होस्, उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् । अन्यथा सरकारको एक वर्षको उपलब्धी यही हुने छ,’– उनले भनिन् ।

त्यस्तै, माओवादी केन्द्र कि नेतृ एवं प्रतिनिधिसभा सदस्य दुर्गा राईले पनि उक्त अडियो प्रकरणमा प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताईन् । उनले भनिन्, ‘यो विषय सामान्य प्रशासनमन्त्रीको मात्रै नभएर सम्माननीय प्रधानमन्त्रीको विषय पनि हो । कु्नै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले सोच्ने विषय हो । मन्त्रीजीहरुको घुसको डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैैन । मन्त्रीहरुले नैतिकता देखाउने त टाढाको विषय बन्दै छ । प्रधानमन्त्रीज्यूले म घुस पनि लिन्न, अरुलाई घुस लिन पनि दिन्न भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’ उनले भने ।

त्यस्तै, माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरे । उनले यस विषयमा सरकारको तर्फबाट सार्वभौम संसद्लाई सत्यतथ्य जानकारी गराइनुपर्ने बताए । ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ । सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रोसँग स्मरण छ, यही गरिमामय संसद्मा प्रधानमन्त्रीले भन्नु भएको थियो– म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ । यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्य तथ्य जवाफ चाहियो,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *