नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् ।

आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरे।

उनले भने,‘ हामीले देखिरहेको छौं। विभिन्न भाषाहरु मर्दै गइरहेको छन्। थोरै सङ्ख्याले बोल्ने भाषाहरु ठूला भाषा र बाहिरी भाषाको चपेटामा परेका छन्। आफ्नै देशभित्र थोरै सङ्ख्याले बोल्ने भाषा पनि हराउँदै गइरहेको छ। देश सानो छ त संस्कृति र भाषामा धनिी छौं। र भाषाहरुलाई कसरी समृद्ध बनाउने र संरक्षण गर्ने भन्ने चिन्ता एकातिर छ। आफ्नै नेपाली भाषालाईं पनि बाह्य भाषाको अतिक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता हाम्रा सामु छ।’

त्यस्तै उनले आज भानु जयन्ती नेपालको सिमाभित्र मात्रै नभई संसारका अरु भू–भागहरुमापनि फैलिएको बताए।

हामीले आफ्नो भाषाको जगेर्ना गर्ने ,आफ्नो भाषा फैलाउने र आफ्नो भाषामा साहित्य सृजना गर्ने व्यक्तित्वहरुलाई सम्झनु पर्ने भन्दै उनले नेपाल देश र नेपाली भाषा रहेसम्म भानुभक्तको महत्व रहने धारणा राखे।

उनले भने,‘आज भानु जयन्ती नेपालको सिमाभित्र मात्रै छैन्। संसारका अरु भू-भागहरुमापनि भानु जयन्ती फैलिएको छ। भानु जयन्ती मनाउनुको मूल तात्पर्य के हो भने आफ्नो भाषाको जगेर्ना गर्ने वा भाषा फैलाउने हो, आफ्नो भाषामा साहित्य सृजना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो। जुन बेलासम्म नेपालीहरु जीवित रहन्छौं। जुनबेलासम्म नेपाल भन्ने देश रहन्छ र त्यसबेलासम्म नेपाली भाषा रहन्छ। त्यसबेलासम्म भानुभक्तको महत्व रहन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *