दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित भएका छन् । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स्याहारमा समर्पित छन् ।
उनले सडक दुर्घटना होस वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायाको उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्ने गरेका छन् । पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ ।
छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरमा पालिकाहरूले करोडौँ रुपैयाँ खर्च गरिसकेका छन् । गौशाला निर्माण तथा छाडा चौपाया व्यवस्थापनका नाममा पालिकाहरूले करोडौँ खर्च गरे पनि त्यसअनुसारको चौपायाहरूको व्यवस्थापन हुनसकेको छैन ।
छाडाचौपायाकै कारण सडक दुर्घटनामा पशुचौपाया घाइतेसमेत हुने गरेका छन् । दूध दुहुञ्जेल गाईलाई घरमा पाल्ने र दूध दिन छाडेपछि सडकमा छाड्ने प्रचलनले समस्या भएको पनेरु बताउँछन् ।
