हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै, पानी अभावले रोपाइँ हुन सकेन

अदानचुली (हुम्ला) । साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभएपछि निराश छन् ।

अदानचुली गाउँपालिकाका किसान भन्छन्, ‘धान र कोदो रोप्न बीउ तयार छ, बीउ उम्रिसक्यो, तर पानी छैन । नहरका लागि पानीको मुहान पनि छैन । आकासे पानीका भरमा बसेका छौँ ।’

असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजना पनि नहुनुले समस्या भएको यहाँका किसान बताउँछन् । अधिकांश ठाउँमा सिँचाइका नहर भए पनि गत वैशाखमा आएको बाढीले क्षतिग्रस्त छन् ।

आकाशबाट आएको पानीले खोला बढेपछि सोही खोलाको पानीले खेत रोप्नका लागि बनाइएका कुलोमा झारमात्र उम्रिएको छ । योजनाहरू प्रायः व्यक्तिगत छन् । सिँचाइका योजना छैनन् ।

अदानचुली गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारले हरेक वर्ष करोडौँ रुपैयाँ विकास योजनामा विनियोजन गरेको हुन्छ तर व्यक्तिगत पर्खाल, गेट, मोटरेबल सडक र रङ्गीन बोर्डहरूमा बजेट खर्च भइरहेछ ।

तर खेतबारीमा पानी पुर्याउने कुनै योजना र कार्यक्रम देखिन्न । खोलाको नाममा तटबन्धन भए पनि आफ्नै जग्गा र पर्खाल बनाउने, व्यक्तिगत फार्महरूको घेरबारलगायत योजना सङ्घ र प्रदेशले बनाएर कार्यान्वयन गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *