काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने उदयपुर त्रियुगा नगरपालिका-९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने कास्की पोखरा महानगरपालिका-२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ।
दनुवारले चार जनाबाट रु आठ लाख र रोका मगरले दुई जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
