प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

फिक्कल (इलाम)। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शैय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन्।

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए। साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ।

नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ। २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए।

अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए। अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ। नगरपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *