‘हरेक पटक नेपाली खेलकुदको इज्जत धान्ने कराते तर पुरस्कार रकम दिन किन विभेद ?

काठमाडौं । नेपाल कराते महासंघले करातेजस्तो अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको खेललाई सरकार र नीतिनिर्माताहरूले बेवास्ता गरेको गुनासो गरेको छ।

महासंघका अध्यक्ष तथा दक्षिण एशियाली कराते महासंघका महासचिव युवराज लामाले सरकारले केही सीमित खेललाई मात्र प्राथमिकता दिँदै बाँकी खेलप्रति विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका हुन्।

‘अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा पनि कराते खेलाडीहरूलाई न त शुभकामना दिइन्छ, न त सम्मान वा पुरस्कार’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अर्कोतर्फ, केही खेलमा सामान्य उपलब्धिमै लाखौं रुपैयाँ पुरस्कार घोषणा हुने गरेको उनले बताए।

यस्तै, हालै सम्पन्न नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले २१ स्वर्ण, ९ रजत र २० कास्य पदकसहित कुल ५० पदक जितेर ऐतिहासिक सफलता हासिल गरे पनि सरकार वा खेलकुद निकायबाट कुनै आधिकारिक सम्मान वा पुरस्कारको घोषणा नभएको महासंघको भनाइ छ।

महासंघले ‘सबै खेल समान’ भन्ने सिद्धान्त व्यवहारमा लागू गर्न सरकारको ध्यानाकर्षण गराएको छ। उनीहरूले करातेजस्ता ओलम्पिक मान्यताप्राप्त खेललाई पनि बराबरी व्यवहार गर्न आग्रह गरेका छन् ।

यस्तै करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले पनि सामाजिक सञ्जालमा पछिल्लँ दुई वर्षको उपलब्धीहरु पोष्ट गर्दै प्रधानमन्त्री र राज्यबाट करातेलाई किन उपेक्षा भनेर प्रश्न राखेका छन् ।

‘हरेक पटक नेपाली खेलकुदको इज्जत धान्ने कराते तर पुरस्कार रकम दिन  किन विभेद ? के हाम्रो पदक किनेर अथवा मागेर लिएको हो?, श्रेष्ठले लेखेका छन्, ‘दक्षिण एसियाली, विस्व सितोरियो तथा एशिया प्यासिफ़िक सितोरियो कराते प्रतियोगिता, करातेको प्रतिष्ठित प्रतियोगिता विश्व प्रिमियर लिग, यूथ लिग लगायत युस ओपन/अस्ट्रेलियन ओपन/थाईल्याण्ड ओपनको पदक विजेता खेलाडीहरूको पुरस्कार रकम खोई?’ श्रेष्ठले प्रश्न गरेका छन् ।

उनले अब कराते खेलाडीले खेल्ने कि नखेल्ने भन्ने प्रश्न समेत राखेका छन् । ‘अब कराते खेलाडीहरूले के गर्ने? खेल्ने कि नखेल्ने?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *