कांग्रेसको इतर समूहले अनुशासन समितिको निर्णय नमान्ने, प्रतिवाद गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको डा शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले अनुशासन समितिले बुधबार २३ नेतालाई कारबाही गर्न गरेको निर्णय नमान्ने भएको छ ।

बिहान डा. कोइरालाको विशालनगर स्थित सम्पर्क कार्यालयमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई एकतर्फी रुपमा विधान विपरित कारबाही गर्ने भनि नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो।

छलफललमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय समेत भएको छ। कारवाहीका सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र राजनीतिक रुपमा शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय भएको डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीहरुका बिच अहिले अनुशासन समितिको फाईल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासी बिज्ञप्ति निकालेर कारबाही गरिएकाले त्यसको प्रतिकार गर्ने निर्णय गरिएको थपलियाले जानकारी दिए।

केन्द्रीय समितिको बैठकपश्चात् पार्टी सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय पाँच जना बसेर अहिले अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने भन्ने सहमतिविपरीत कारवाहीको निर्णय आएको कोइराला पक्षको भनाइ छ।

यसअघि बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारबिरुद्ध असहयोग गरि पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केहि नेता तथा कार्यकर्तालाई निस्काशन र निलम्वन गरिएको निर्णय सहितको बिज्ञप्ती सार्वजनिक गरेको थियो।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *