काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको पोखरा विमानस्थलको प्रतिवेदन अलपत्र परेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले अर्बौं भ्रष्टाचार भएको र करोडौं गैरकानूनी भुक्तानी भएको निष्कर्षसहित सो प्रतिवेदन अख्यितारलाई जिम्मा दिँदा पनि दुई महिनासम्म कुनै प्रक्रिया अगाडि नबढाइएको बताए । नेता दाहालले उक्त प्रतिवेदन तत्काल अगाडि बढाएर दोषीमाथि कारबाही गरिनुपर्ने बताए ।
‘सम्मानित संसद्को सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा पोखरा विमानस्थल निर्माणको क्रममा अर्बौं भ्रष्टाचार र करोडौं गैरकानूनी भुक्तानी भएको निष्कर्षसहित निर्णय गरेको कुरा यहाँहरु सबैमा अवगत नै छ । अर्बौं भ्रष्टाचभार र गैरकानूनी भुक्तानी प्रक्रियामा संलग्नताको आशंकामा बहालवाला कर्मचारीहरुलाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउनको निम्ति लिखित आदेश अख्तियारमा जाहेर गरेको पनि दुई महिना बितिसकेको छ । तर, अनुसन्धान प्रक्रियामा भइरहेको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अनुसन्धान प्रक्रिया थाल्न र अपराधीहरुलाई कानुनको कठघरामा उभ्याउनको निम्ति अख्तियारको ध्यानकर्षण गराउँछु,’– उनले भने ।
