प्रतिनिधिसभा बैठक : उद्धार र राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले रसुवामा आएको बाढी र त्यसले निम्त्याएको मानवीय र भौतिक क्षतिको दुःख व्यक्त गर्दै उद्धार तथा राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

आकस्मिक समयमा बोल्दै उनीहरुले विपद् जोखिम न्यूनीकरणमा सरकार पर्याप्त तयारीका साथ लाग्नुपर्नेमा जोड दिए ।

सांसदहरु विश्वप्रकाश शर्मा, देवेन्द्र पौडेल, अर्जुननरसिंह केसी, ईश्वरबहादुर रिजाल, विमला सुवेदी, प्रकाशशरण महत, सीता मिजार र डा अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरुको उद्धारमा ढिलाइ नगर्न आग्रह गरेका हुन् ।

त्यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलित चिकित्सकहरुले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकाल्नुपर्ने बताए ।

सांसदहरु प्रभु हजारा, प्रभु साह र दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराए । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उनीहरुले माग गरे । यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरीमा खानेपानीको हाहाकारसँगै मल र खादको अभाव रहेकाले समस्या सम्बोधन गर्नुपर्ने बताए ।

सांसद हरिप्रसाद उप्रेतीले उखु किसानहरुले अनुदान नपाउँदा उद्योगहरु बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुको पैसा र अनुदान पाउनुपर्ने बताए । सांसदहरु धनबहादुर बुढा, कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्मा ध्यानाकर्षण गराए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *