रसुवा बाढीबारे सार्वजनिक प्रारम्भिक अध्ययन प्रतिवेदनमा के छ ?

काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवामा आएको बाढीबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

महाशाखाले जारी गरेको प्रतिवेदनअनुसार आज बिहान करिब ३ बजे भोटेकोशी नदीमा तिब्बत क्षेत्रतर्फबाट एक्कासि ठूलो बाढी आएको देखिएको छ। तर, उपलब्ध विवरणहरूको विश्लेषण गर्दा केवल वर्षाका कारण यति ठूलो बाढी आएको प्रमाणित नदेखिएको महाशाखाले जनाएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘तिब्बत क्षेत्रतर्फबाट आएको पानीको मात्रा असामान्य देखिएको छ। घटनाको थप विस्तृत अध्ययन भइरहेको छ।’

महाशाखाले हाल घटनास्थलको स्थलगत अवलोकन गरी थप तथ्य संकलन गर्ने तयारी गरेको छ।

बाढीका कारण १८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रारम्भिक रिपोर्टअनुसार लेन्डेखोलामा आएको बाढीका कारण नेपाल प्रहरीका ३ जनासहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता भएका हुन्।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । पुल नहुँदा नेपाल र चीनबीचको सम्पर्क विच्छेद भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बगेको पुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्।

बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेको मालवाहक कन्टेनरहरू र गाडीहरू समेत बगाएको छ। रुसुवाको स्याफ्रुबेसीदेखि रसुवागढी नाकासम्मको बाटो समेत बन्द भएको छ। सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू समेत हराइरहेको हुँदा क्षतिको पूर्ण विवरण आएको छैन।

अजैसम्म बाढिमा फसेका सबै सम्पर्कमा आउन नसकेको र उद्धारको क्रम जारी रहेकोले कति अहिलेसम्म अनुमान गरिएभन्दा बढि भएको हुनसक्ने जोखिम समेत रहेको सुरक्षा निकायले जनाएको छ। बाढीका कारण विभिन्न ठाउँमा फसेका एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र अन्य ७ जना मानिसहरूलाई उद्धार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *