सरकार लोकप्रिय बन्न सकेन, गम्भीर समीक्षा गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीसमेत सहभागी सरकार अपेक्षित रूपमा लोकप्रिय बनाउन नसकिएको बताएका छन् । पार्टी कार्यालय सानेपामा गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आज धारणा राख्दै महामन्त्री शर्माले सरकारले केही राम्रा काम गरे पनि लोकप्रिय बन्न नसकेकोबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । 

‘हामी निर्वाचनमा पहिलो दल भयौँ तर कहिले तेस्रो दलको नेतृत्वमा, कहिले दोस्रो दलको नेतृत्वमा हामी सरकारमा छौँ । केही राम्रा कामहरू सरकारले गरेको छ,’ महामन्त्री शर्माले भने, ‘त्यसलाई एप्रिसिएट गर्नुपर्छ। तर सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ ।’

उनले प्रारम्भिक कार्यसमितिको चार वर्षसम्म महाधिवेशनको प्रक्रिया सुरु नगरेको भन्दै गम्भीर हुनुपर्ने बताए । ‘साङ्गठनिक रूपमा पाँच महिनापछि विधानले निर्धारित गरेको प्रारम्भिक हाम्रो चार वर्षे समय पूरा हुँदैछ । महाधिवेशनको प्रक्रियामा अहिले हामी गइसकेका छैनौँ,’ शर्माले भने, ‘केही बित्दैछ र योभन्दा बढी चुनौतीपूर्ण अवस्थामा हामी पुग्न पनि सक्छौँ भन्ने कुरा गम्भीर रूपमा हामीले राख्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *