काठमाडौँ । बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई सफाइ दिने दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । परिवर्तित नाम २६ परिसर २६ नामबाट उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठलाई अनुसन्धानको दायरमा ल्याई कारबाहीको माग गर्दै उजुरी परेको हो ।
गिरीकी पूर्वपत्नी आरती रावलले उनीविरुद्ध वैवाहिक बलात्कार र बलात्कार कसुरमा मुद्दा दायर गरेकी थिइन् । २०७५ सालमा गिरीले रावलसँग बिहे गरेका थिए । दोस्री श्रीमतीका रूपमा गिरीले रावललाई विवाह गरेको केही समयमै सम्बन्ध बिग्रिएपछि २०७९ मंसिरमा रावलले गिरीविरुद्ध कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।
वैवाहिक बलात्कारको मुद्दा चलिरहेकै वेला २०७९ चैत २७ गते राति र २८ गते दिउँसोसम्म गरेर ८ पटक जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएकोमा सर्वोच्च अदालतले २०८० चैत २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । बहस चलिरहँदा रावलले इजलासमै विष सेवन गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।
२०८१ जेठमा अन्तिम फैसला गर्दै जिल्ला अदालत काठमाडौँले भुवन गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवानाको फैसला गरेको थियो । तर उच्चले गत उक्त फैसला उल्टाउँदै सफाइ दिएको थियो ।
न्याय परिषद्मा दिइएको उजुरीमा पीडितलाई बन्धक बनाई पटक–पटक करणी गरेको दाबी गरिएको छ । करणीबाट असहनीय पीडा भएपछि प्रहरी गुहार्दै घटनास्थलमै प्रहरी आएर पीडितको उद्धार गरेकोमा त्यसलाई सहमतिको सम्बन्धका रूपमा व्याख्या गरी सफाइ दिएको आरोप न्यायाधीशद्वयमाथि छ ।
