काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समितिको माग गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अरु प्रकरणमा संसदीय समिति बनाइएको जस्तै भिजिट भिसा प्रकरणमा पनि संसदीय समिति बनाउनु पर्ने बताएका हुन् ।
भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीको संलग्नता रहेको उनको दाबी छ । ‘सबैभन्दा ठूलो काण्ड भिजिट भिसामा तलदेखि माथिसम्म, प्रधानमन्त्रीदेखि लिएर तल्लो तहको कर्मचारीसम्म मुछिएको छ । त्यो दुर्गन्ध आइराखेको छ । संसारभरी नेपालीहरुको बदनामी भइरहेको यत्रो जल्दोबल्दो भिजिट भिसामा किन संसदीय छानविन समिति गठन भएन ? अरु छानविन समिति गठन गरेजस्तो भिजिट भिसामा पनि तत्काल छानविन समिति गठन होस् भन्ने राप्रपाले माग राख्छ । यदि भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्ने छ,’– उनले भने ।
