खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने क्रम चलिराखेकै छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने क्रम चलिराखेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति ‘समाजवादी दर्शनको रूपरेखा’ लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरुले जनवादी क्रान्तिको क्रममा भन्ने गरेको कुरा अहिले आएर पुष्टि भइरहेको बताएका हुन् । उनले संसदीय समितिको प्रतिवेदनमाथि भइरहेको छेडखानीले त्यही पुष्टि गर्ने बताए ।

‘हामीले हिजो जनवादी क्रान्तिको कालमा मार्क्सवादको प्रचार गर्दा भन्थ्यौं– संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । अहिले जे भइराखेको देखिन्छ, समितिका प्रतिवेदनमाथि भएका छेडखानीहरु त्यो त्यस्तै हो । देखाउँदाखेरि खसीको टाउकै देखाइएको छ लोकतन्त्र, बेच्दाखेरी कुकुरको मासु बेच्ने गरिएको छ भित्रभित्रै । त्यस्तै चिज चलिराखेकै छ,’– प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले अहिले ठूलो अन्तरविरोध, वैचारिक संघर्ष, वर्ग संघर्ष चलिरहेको बताए । संविधानमा निर्दिष्ट गरिएको मूलभूत मान्यतालाई इमादारिताको साथ प्रयोग गर्ने एउटा विचार, प्रवृत्ति छ भने अर्को संविधानमा भएको सबै सकारात्मक, प्रगतिशील र लोकप्रिय चिजहरुलाई उल्ट्याउने र त्यसलाई फेरि प्रतिक्रियवादी अनुकूल बनाउने कसरत चलिराखेकै छ ।

आफ्नो नेतृत्वमा पटक–पटक बनेको सरकारमा देशलाई समाजवादतिरै लान बल गरेको उनले बताए । पहिलो पटक सरकारको नेतृत्व गर्दा गरिब किसानहरुको ऋण मिनाह, मध्य पहाडी लोकमार्गदेखि उत्तर–दक्षिण करिडोरमार्फत राष्ट्रिय एकतालाई सुदृढ बनाउने काम देशलाई समाजवादतर्फ अग्रसर गराउने प्रयास रहेको उनले बताए । अहिले त्यो व्यवहारतः सम्पन्न हुने चरणतिर गएको उनले बताए । दोस्रो पटक सरकारको नेतृत्व गर्दा देशको राष्ट्रिय एकतालाई सुदृढ गर्न मेहनत गरिएको उनले बताए । तेस्रो पटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा काम गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *