नवलपुर (नवलपरासी)। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन्। स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरु घर ढलानको भोजमा च्याउ खाएर बिरामी परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन्।
च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडा मगर, ४५ वर्षीय एकबीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ। च्याउ खाएर बिरामी हुनेहरुमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुङ्गेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन्।
यस्तै स्थानीय ६६ वर्षीया गनिसरा राना मगर, ४० वर्षीया मनमाया लुङ्गेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहा मगर, १८ वर्षीय राजन राना मगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन्।
