खेल र चलचित्र क्षेत्रको विकासलाई महत्व दिँदैआएको छुः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् । पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए । ‘म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिँदैआएको छु,’– उनले भने ।

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उनको धारणा थियो। ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्। चलचित्र कालजयी पनि हुन्छन्,’– प्रचण्डले भने ।

प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे । उनले शिक्षा विधेयकबारे समेत चर्चा गर्दै संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको बताए ।

‘हामी देश र जनतालाई अगाडि लैजानु पर्छ भन्नेमा छौं। तर केही तत्वहरूले यसको विरोधमा छन्,’ उनले भने ।

उनले अहिले पाइपलाइनमा रहेका विधयेकहरूमा सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने प्रचण्डले विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *