सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ३ जनाविरुद्ध ७ उजुरी

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाविरुद्ध सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । समिति सभापति ईश्वरी न्यौपानेले समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको जानकारी दिइन् । 

समितिको आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको बैठकमा सभापति न्यौपानेले प्रस्तावित न्यायाधीशहरू विरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन् । उनले बैठकमा को बारे, के उजुरी भन्ने खुलाइनन् । 

उजुरीकर्तालाई शुक्रबार बिहान साढे ११ बजे बस्ने समितिको बैठकमा आमन्त्रण गर्ने निर्णय बैठकले गरेको छ ।  वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायपरिषद्को बैठकले सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । 

१५ गते आइतबार प्रस्तावित न्यायाधीशहरूसँग सुनुवाइ गर्ने निर्णय पनि समितिको छ ।  बैठक मध्यान्ह सवा १२ बजे बोलाइएको समितिका सभापति न्यौपानेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *