आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व संकलन

भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु दुई अर्ब ९१ करोड ९८ लाख ३६ हजार राजस्व संकलन गरेको छ। उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा नौ दशमलव २४ प्रतिशतले बढी हो।

गत आव २०८०/८१ को (साउन-जेठ)मा रु दुई अर्ब ६७ करोड २६ लाख ३१ हजार राजस्व संकलन भएको कर अधिकृत एवं सूचना अधिकारी डोरराज सुनुवार जानकारी दिए। आन्तरिक राजस्व कार्यालयले चालु आव २०८१/८२ मा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको उनले बताए।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको ११ महिनाको लक्ष्यको ८५ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन भएको कर अधिकृत सुनुवारले बताए। कार्यालयले ११ महिनामा आयकरबाट रु एक अर्ब रु २६ करोड ५२ लाख, ब्याजबापत रु आठ करोड १६ लाख, मूल्य अभिवृद्धि करबापत रु ९८ करोड २८ लाख ३१ हजार, अन्तःशुल्कबापत रु ५५ करोड १६ लाख ६७ हजार राजस्व संकलन गरेको छ।

‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ, यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायतका कानुनी कारबाही गर्ने गरिएको छ’, सूचना अधिकारी सुनुवारले भने।

साथै कार्यालयमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये एक हजार ५८८ करदातालाई निलम्बन गरिएको सूचना अधिकारी सुनुवारले जानकारी दिए। आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धि कर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको उनले बताए। कार्यालयका सूचना अधिकारी सुनुवारका अनुसार विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार रोक्का गरिएको बारेमा उद्योग वाणिज्य संघ, उपभोक्तालगायतलाई जानकारी गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *