काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा सदनको गतिरोध र समाजवादी मोर्चालाई अगाडि बढाउने कुरामा छलफल भएको प्रचण्डले बताए ।
‘अहिले सदनको भइरहेको परिस्थितिको पनि अलिकति समीक्षा गरियो । अनि समाजवादी मोर्चालाई कसरी लैजाने भन्ने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । त्यस्तो कुनै गम्भीर विषयमा होइन,’– बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने ।
नेकपा (एस) का अध्यक्ष नेपाललाई पतञ्जली योग पीठको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँग अध्यक्ष नेपालको सांसद पदसमेत निलम्बनमा परेको छ । भ्रष्टाचार मुद्दा लागेपछि दाहाल–नेपाल पहिलो पटक भेटवार्ता गरेका हुन् ।
