अदालतमा सेटिङ गरेको पुष्टि हुने प्रमाण पेश गर्न अमरेशलाई मन्त्री चौरासियाको चुनौती

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयराज चौरासियाले प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले निराधार, काल्पनीक र असत्य आरोप लगाएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूमाथि लगाएको प्रमाण पुष्टि हुने प्रमाण पेश गर्न चुनौति दिएका छन् । उनले आफ्नो राजनीतिक जीवन खहरे खोलाजस्तो र लट्टाइबाट चुँडिएको चङ्गाजस्तो अनुशासनहीन नरहेको बताए । सांसद सिंहले मन्त्री चौरासियाले अदालतमो सेटिङ गर्ने गरेको आरोप लगाएका थिए ।

आफूमाथि लगाएको आरोपको खण्डन गर्दै उनले भने, ‘माननीयज्यूले मेरो बारेमा पनि केही कुरा उठाउनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन, म उहाँलाई प्रश्न सोध्न चाहन्छु । उहाँले मेरो बारेमा आरोप लगाउनुभएको छ । मेरो राजनीतिक जीवनमा नैतिकता, चरित्रको राजनीति गरेको व्यक्ति हुँ । २०५६ सालदेखि संसदीय व्यवस्थाको अङ्गको रुपमा मैले काम गरेको छु । म कहिले पनि व्यक्तिगत रुपमा आफूलाई खहरेखोलाजस्तो अनुशासनहीन र उडिरहेको चङ्का लट्टाईबाट चुँडिएजस्तो व्यक्तित्व मेरो होइन । माननीय सांसदजीले हेक्का राख्नुपर्छ, कुनै आरोप लगाउँदा कहाँ त्यस्तो प्रमाण उहाँले पाउनुभयो ? मेरो खिलाफमा, मेरोविरुद्धको त्यस्तो प्रमाण छ भने उहाँले पेश गरे हुन्छ । मेरोमात्रै कल डिटेल होइन, उहाँको कसरी सम्पर्क भयो न्याय क्षेत्रका व्यक्तिहरुसँग ? उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ,’– उनले भने ।

साथै, न्यायाधीश नियुक्ति प्रक्रिया स्वच्छ र निष्पक्ष रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *