काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी नि:शुल्क प्रशिक्षण’ कार्यक्रममा उनले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताए ।
मन्त्री सुडीले भने, “मधेशमा भएको लामो संघर्ष र बलिदानबाट मधेशी समुदायले कतिपय हकअधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।”
सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री तथा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले मधेशी महिलाको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिकसँगै समग्र विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिए।
सुडी समाज काठमाडौँका अध्यक्ष शीतलप्रसाद महतोले महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले समाजले ‘क्यान्सरका लक्षण र उपचारबारे डाक्टर संवाद’ कार्यक्रम आयोजना गरेको जानकारी दिए ।