महँगी दर घट्यो

काठमाडौँ । नेपालमा मूल्यवृद्धि दर घटेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको तुलनामा चालु आर्थिक महँगी दर घटेको देखिएको हो ।

वैशाख मसान्त सम्ममा उपभोक्ता मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धिदर ४.४० प्रतिशत थियो । यस्तै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ३.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक उपभोक्ता मूल्य सूचकांक ११.०८ प्रतिशत, फलफूलको ६.१५ प्रतिशत, दाल तथा गेडागुडीको ५.१७ प्रतिशत र गैर-मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ भने तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११ प्रतिशत, मरमसलाको २.२० प्रतिशत र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *