उर्जामन्त्री खड्काद्धारा गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन

काठमाडौँ। पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ ।

आज नवलपरासीमा एक कार्यक्रमका बीच नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाअन्तर्गतको सेटलिंग बेसिनको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रतिनिधि सभा सदस्य विनोद चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले पश्चिम नवलपरासीका नागरिकले भोग्दै आएको डुबान र सिँचाइको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, ‘यहाँ रहेका ६ वटा नदीहरूमा तटबन्ध निर्माण गर्नुपर्छ। त्यसका लागि पर्याप्त बजेटको आवश्यकता छ र यसका लागि सरकार गम्भीर छ ।’

सोही अवसरमा पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद विनोद चौधरीले हरेक वर्ष वर्षायाममा हुने डुबान र कटानको समस्याबाट यो क्षेत्र अत्यन्तै प्रभावित भएकाले यसको दीर्घकालीन समाधानका लागि ऊर्जा मन्त्रीको ध्यानाकर्षण गराए । उनले ६५ वर्षअघि नेपाल-भारतबिच भएको ऐतिहासिक गण्डक परियोजना सम्झौताबारे भारतीय पक्षसँग गम्भीर रूपमा संवाद गर्नुपर्ने खाँचो औँल्याए ।

२०३९ सालमा निर्माण भएको नहरको सिँचाइ क्षमता ८ हजार ७ सय हेक्टर क्षेत्रफल भए पनि मुहानमै बालुवा थुप्रिने समस्याका कारण २० प्रतिशत क्षमतामा मात्रै सिँचाइ हुँदै आएको थियो। अब यो नहर क्षमता विस्तार गरी सञ्चालनमा आएको छ।

उद्घाटन गरिएको नेपाल गण्डक पश्चिमी नहरको सेटलिंग बेसिन ३५ करोड लागतमा साढे दुई वर्षमा सम्पन्न भएको हो।

सेटलिंग बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिनेछ, जसले नहरको पूर्ण क्षमतामा सिँचाइ गर्न मद्दत पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *