अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक सम्बन्धलाई नयाँ आयाम दिएको तारक ब्रह्मपीठ चतराधाम समितिका केन्द्रिय उपाध्यक्ष गोविन्द कौशिकले बताउनुभयो । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट र श्रीकृष्ण जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष महन्त श्री नृत्य गोपाल दासजी महाराजको ८७ औं जन्ममहोत्सवको पावन अवसरमा आयोजना गरिएको विराट कार्यक्रममा नेपाली सन्त श्री स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाको प्रमुख आतिथ्यतामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुनुले यस समारोहलाई ऐतिहासिक बनाएको छ ।

कार्यक्रमका आयोजक तथा मणिरामदास छाउनीका उत्तराधिकारी महन्त श्री कमलनयन दास शास्त्रीजीले मुख्यमन्त्री योगी आदित्यनाथप्रति उच्च सम्मान प्रकट गर्दै भन्नुभयो, ‘योगीजीले उत्तर प्रदेशमा आतङ्कवादको अन्त्य सँगसँगै आध्यात्मिक पुनर्जागरणको नेतृत्व पनि गर्नुभएको छ । राष्ट्रको रक्षाका लागि योगीजी महाराज प्रधानमन्त्री बन्न आवश्यक छ।’ उहाँले थप्नुभयो,’नेपाल तपस्वीहरूको तपस्या गर्ने पवित्र भूमि हो, जहाँ महायोगी सिद्धबाबा जस्ता महान् महात्माहरू जन्म दिने ठाउँ हो । यस्तो आध्यात्मिक, वैदिक र सांस्कृतिक विरासत बोकेको नेपाल हिन्दु राष्ट्रका रूपमा पुनःस्थापना हुनु अत्यावश्यक छ, ताकि सनातन मूल्य र आध्यात्मिक चेतनाको संरक्षण तथा सम्बर्द्धन सम्भव होस् ।’

योगी आदित्यनाथले ८ वर्ष अघि अयोध्या आउँदा उठेका नारालाई स्मरण गर्दै भन्नुभयो, ‘त्यो बेला अयोध्यावासीले ‘योगीजी एक कामकरो, मन्दिरका निर्माण करो’ भन्दै नारा लगाएका थिए। आज त्यो नारा समाप्त भएको छ, भव्य राम मन्दिरको निर्माण भइरहेको छ ।’

कार्यक्रममा योगीले नेपाल र भारतबीचको सम्बन्धको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘महायोगी सिद्धबाबाको साधना र वाणीले भारत र नेपालबीचको वैदिक सम्बन्धलाई पुनः जीवन्त बनाएको छ । यी साझा संस्कृतिको संरक्षण नै हाम्रो साझा धर्म हो ।’

यही दिन योगी आदित्यनाथको जन्मदिन परेको हुँदा महायोगी सिद्धबाबा लगायत विशिष्ट सन्तहरूले उहाँलाई पुष्पमाला अर्पण गर्दै शुभकामना र आशीर्वाद प्रदान गर्नुभएको छ । यस दृश्यले सत्सङ्गमा समर्पण, सम्मान र आध्यात्मिक आत्मीयताको गहिरो झल्को दिएको देखिन्छ ।

कार्यक्रममा भारत सरकार तथा उत्तर प्रदेशका उच्चपदस्थ अधिकारीहरु, नेपालका पूर्व सचिव, सुरक्षा निकायका पूर्व प्रमुख, वरिष्ठ अधिवक्ता, प्रतिष्ठित व्यवसायीहरु, नेपाल, भारत तथा विदेशबाट आएका साधकहरूको उल्लेख्य उपस्थिति रहनु नेपालका लागि गर्वको विषय भएको तारक ब्रह्मपीठ चतराधाम समितिका केन्द्रिय सदस्य ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।

कार्यक्रमा सुरत शब्दयोग साधना र श्रीराम कथावाचन भइरहेको छ । सुरत शब्दयोग ध्यान साधनाको प्रशिक्षण महायोगी सिद्धबाबाबाट प्रदान भइरहेको छ भने श्रीराम कथावाचन श्रीराम कुञ्ज कथा मण्डप, रामघाट अयोध्याधामका श्री रामानन्द दासजी महाराजबाट भइरहेको छ । जसमा भारत र नेपालका साथै विश्वभरबाट आएका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रमले नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक र अध्यात्मिक सम्बन्धलाई सेतुजस्तै जोड्ने कार्य गरिरहेको छ । भारतका टेलिभिजन च्यानलहरूमा कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा विश्लेषणले यसको ऐतिहासिक महत्वलाई अझ बलियो बनाएको बुझ्न सकिन्छ ।

सत्सङ्ग महोत्सव जेठ २७ गतेसम्म सञ्चालन हुनेछ । यो केवल धार्मिक कार्यक्रम मात्र नभएर युगान्तकारी आध्यात्मिक जागरणको अभियान बनिरहेको छ, जसको केन्द्रमा नेपालका महायोगी सिद्धबाबालाई देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *