सभ्य समाज निर्माण गर्न सबै किसिमका विभेदको अन्त्य गर्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान सबै किसिमका विभेदको अन्त्यगरी सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले समतामूलक समाज निर्माण गर्न सबै प्रकारका जातीय तथा सामाजिक विभेदलाई अन्त्य गर्नुपर्ने बताए।

संसद्बाट छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १९ वर्ष पूरा भएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन–२०६८ पारित गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन सुरुआत गरेको बताए।

छुवाछुतमुक्त घोषणा गरिएको लामो समय भए पनि जातीय विभेद तथा छुवाछुतजन्य हिंसाको अन्त्य हुन नसकेको बताउँदै उनले घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन र विकृतिलाई अन्त्य गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे। उनले देश विकास तथा जनताको समृद्धिका लागि एकीकृत समाजवादीले अगाडि सारेको ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको’ भन्ने अभियान सार्थक बनाउन सबै वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे।

पार्टीका सचिव गणेश विकले मुलुकमा सामाजिक न्याय, समानता, समावेशी सिद्धान्तका आधारमा दलित वर्गका हकहित र अधिकारको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *