काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिकहरूका लागि १३ जिल्लाका निषेधित क्षेत्रमा गरिने पदयात्रा अनुमति प्रक्रियामा नयाँ व्यवस्थाहरू लागू गरेको छ ।
विभागका अनुसार अब पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया—आवेदनदेखि स्वीकृतिसम्म—अनलाइन प्रणालीमार्फत गरिनेछ। यसले सेवा छिटो, छरितो र सेवाग्राहीमैत्री हुने विश्वास लिइएको छ। साथै, विदेशी नागरिकहरूले नेपाल प्रवेश गर्दा प्राप्त भिसा नम्बर प्रणालीमा अद्यावधिक नभए पनि पदयात्रा अनुमति आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
यसका साथै अब एक जना मात्र पदयात्रीलाई पनि पदयात्रा अनुमति प्रदान गरिने विभागले जनाएको छ ।
सरकारले हालै साताको दुई दिन औशनिबार र आइतबारओ सार्वजनिक बिदा दिने निर्णय गरेसँगै पदयात्रा अनुमति लिने पर्यटक र ट्रेकिङ एजेन्सीहरूलाई समस्या परेको भन्दै विभागले अर्को कार्यतालिका सार्वजनिक गरेको छ ।
अब शनिबार बाहेकका अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि विभागले बिहान ११ः ०० बजेदेखि दिउँसो १ः ०० बजेसम्म दुई घण्टा पदयात्रा अनुमतिका लागि कार्यालय खोल्ने निर्णय गरेको छ ।
विभागले सेवासम्बन्धी सम्पूर्ण काम अनलाइनमार्फत हुने भएकाले सेवाग्राहीलाई कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता नहुने स्पष्ट पारेको छ। आवश्यक कागजात वा प्राविधिक समस्या आएमा भने विभागले उपलब्ध गराएको सम्पर्क नम्बरमार्फत सहयोग लिन सकिने जनाइएको छ।

