श्रम मन्त्रालयको आग्रह: ‘श्रम संसार’ प्रणालीमा आबद्ध हुनु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले ‘श्रम संसार’ डिजिटल प्रणालीमार्फत श्रम तथा रोजगारसम्बन्धी सेवाहरू एकीकृत गर्ने प्रक्रियालाई अगाडि बढाएसँगै सरोकारवालालाई सो प्रणालीमा आबद्ध हुन आग्रह गरेको छ।

मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाद्वारा प्रकाशित सूचनामा सार्वजनिक सेवा प्रवाहलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्यअनुसार मन्त्रालयअन्तर्गतका सम्पूर्ण डिजिटल प्रणालीलाई ‘श्रम संसार’मार्फत एकीकृत गरी एउटै प्लेटफर्मबाट सञ्चालन गरिने उल्लेख गरिएको छ।

सूचनाअनुसार श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका रोजगारदाता, रोजगारी खोज्ने व्यक्ति, जब एजेन्सी तथा तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा ‘श्रम संसार’मा दर्ता हुन भनिएको छ। यस प्रणालीमार्फत श्रम तथा रोजगारसम्बन्धी सूचना, रोजगारीका अवसर, विज्ञापन तथा तालिमसम्बन्धी विवरण सार्वजनिक गरिने र आन्तरिक रोजगारी व्यवस्थापनलाई अझ व्यवस्थित तथा पारदर्शी बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।

मन्त्रालयले सम्बन्धित सबै सरोकारवालालाई समयमै प्रणालीमा आबद्ध भई सेवा लिन तथा उपलब्ध गराउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *