समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन्।

सन्देशमा प्रचण्डले वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा डोहोर्‍याउन ऐतिहासिक भूमिका खेलेको स्मरण गरेका छन्।

सन्देशमा भनिएको छ, ‘आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्। साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन। त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहिरहनेछ।’ उनले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिका विरुद्ध लड्न महान् लेनिनका शिक्षाहरू अझ सान्दर्भिक भएको समेत उल्लेख गरेका छन्।

प्रचण्डले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन र समतामूलक समाज निर्माण गर्न छरिएर रहेका सम्पूर्ण वामपन्थी शक्तिहरू एक हुनुपर्नेमा विशेष जोड दिएका छन्। उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनले मात्र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु।’

विगतका जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरूबीचको मोर्चाबन्दी अपरिहार्य रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *