देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री पाण्डेले देशमा केही हुँदैन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै लोकतन्त्रमा नागरिकलाई कसरी लाभ दिने र देशलाई उन्नतिको पथमा अघि बढाउने भन्ने विषयमा सबैले सङ्कल्प गर्नुपर्नेमा जोड दिए । उनले भने, “गणतन्त्र जे छ त्यो भन्दा सुधार गर्दै लैजानुपर्छ, कमी कमजोरी हटाउनुपर्छ, यो लोकतन्त्रको असल संस्कृति र संस्कारको बाटो हो, कुनै किसिमको निरङ्कुशता नेपालमा अघि बढ्न सक्दैन ।” मन्त्री पाण्डेले आफूले आफूलाई शासन गर्ने पद्धतिमा सुधार कसरी गर्ने, उपयुक्त व्यक्तिलाई योगदान गर्ने ठाउँमा कसरी पुर्याउने, कसरी नागरिकलाई लाभ दिने भनेर सोच्ने बेला आएको बताए । गणतन्त्र आएपछि नेपालमा विकास भएको दाबी गर्दै उनले अझै धेरै गर्न बाँकी रहेको प्रतिक्रिया दिए । नेपालको सम्पदा हेर्दा त्यो शताब्दीको अरनिको मात्रै नभएर नेपालमा अहिलेको शताब्दीका अरनिकोहरु पनि रहेको आभास हुने बताए । उनले पर्यटक विकासका लागि नौतले दरबारसँगै दाक चोक पनि खुला गरिएको जानकारी गराए । सो क्रममा विभिन्न क्षेत्रका कलाकारलाई उनले सम्मान तथा पुरस्कृत गरे । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक सातै प्रदेशका कलालाई उचित स्थान दिँदै राष्ट्रिय प्रदर्शनी गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *