काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालत पेस गरिने भएको छ ।
शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ ।
प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ ।
ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। यससँगै ओली र लेखकलाई पक्राउ गरिएकाेको छ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
