राष्ट्रियसभा बैठक : पर्यटनबाटै गण्डकी प्रदेशको समृद्धि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि पर्यटन महत्वपूर्ण आधार रहेकाले यसको विकास प्रवर्द्धनमा सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयम उनले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पर्यटनलाई प्राथमिकता दिनसके देशको आयवृद्धि हुने उनको विश्वास छ । नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहालले संविधानअनुरुप बन्नुपर्ने प्रदेश कानुन बनिसकेको र त्यसको कार्यान्वयनका लागि सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताइन् । उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बलियो समन्वय आवश्यक रहेको औँल्याइन् । सांसद दाहालले मधेसका आठ जिल्लालाई अन्न भण्डारको रुपमा विकास गर्न कृषि उत्पादन प्रवद्र्धन र कृषकलाई प्रोत्साहन, सिँचाइ र मलखादको व्यवस्था तथा सुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन सरकारसमक्ष माग गरिन् । नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरे । उनले निर्माणाधीन द्रुत मार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । नेकपा (समाजवादी) का सांसद गोमादेवी तिमिल्सिनाले अनियमितता नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार गम्भीर हुनुपर्ने बताइन्। दैनिक उपभोग्य वस्तुको महँगी नियन्त्रण गर्न, खाना पकाउने एलपी ग्यासको सहजताका लागि सरकारको ध्यानाकर्षण गराइन् । जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सांसद मोहम्मद खालिनले मधेस प्रदेशको समग्र विकासा लागि बजेट सुनिश्चित गरिनुपर्ने बताए । उनले मधेसको विशेषतालाई खलबल्याउने काम भइरहेको दाबी गरे । त्यसको उदाहरणको रुपमा हालै सर्लाहीमा समुदाय विशेषका दुई जनालाई सुँगुरको खोरमा थुनेको घटना गम्भीर लापर्वाही भएको भन्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न र सामाजिक सद्भाव कायम गर्न माग गरे । साथै उनले तराई–मधेसको शिक्षा, स्वास्थ्य पूर्वाधार विकास तथा गरिवी नियन्त्रणमा राज्यको विशेष ध्यान पुग्नुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले लुम्बिनी प्रदेशको समग्र विकासका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले प्रदेशको पर्यटन विकासका लागि गन्तव्यको प्रवद्र्धन र पूर्वाधार विकासमा बजेट विनियोजन हुनुपर्ने धारणा राखे । उनले प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना चाडो सम्पन्न गर्न, सुशासन प्रवर्द्धन र पुँजीगत खर्च बढाउने गरी बजेटमा समावेश गर्न माग गरे । सांसद शर्माले लुम्बिनी प्रदेशलाई अन्न भण्डारको केन्द्रको रुपमा विकास गर्न, सिँचाइको व्यवस्था, फलफूलखेती र जडीबुटीखेती उत्पादन प्रवद्र्धनमा ध्यान दिन सरकारसमक्ष माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *