तीनकुने घटनामा गृहमन्त्रीको जवाफः ‘हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने र तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधानको विपरीत रहेको बताएका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा आफू र आफ्नो मन्त्रालयसँग उठेका प्रश्नको जवाफ दिँदै उनले हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्ने र त्यो दर्शन र आदर्श राजावादी समूहको आन्दोलनको क्रममा तीनकुनेमा नदेखिएको बताएका हुन् । गृहमन्त्री लेखकले र यसलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताए ।

‘कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन । कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निम्ति पनि प्रयोग गर्न हुँदैन । धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न हुँदैन भन्ने मेरो आग्रह हो,’– उनले भने ।

उनले आफूले कुनै पनि हिंसाको घटनालाई धार्मिक आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरिसकेको बताए । मन्त्री लेखकले कुनै धर्म उत्कृष्ट र अर्को कम उत्कृष्ट भन्ने आफ्नो धारणा नरहेको बताए । तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराधकर्म रहेको र उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने मन्त्री लेखकले बताए ।

उक्त घटनामा संलग्न भएकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *