सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सांसदहरुको असन्तुष्टी

काठमाडौं। नेपाली कांग्रेसका सांसदहरुले सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका छन्। संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी जनाएका हुन्। साथै उनीहरुले गभर्नर लगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए।

बैठकमा सांसदहरुले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगाएतका सुझाव दिएका थिए। बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रुपमा सन्तुलित वितरण लगाएतका बिषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरुले कुरा राखेको उनले बताए। उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाई भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरुसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे। सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ छ।

त्यस्तै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले ठूला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरुको रहेको बताए। उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाईका विषयमा पनि सांसदहरुले चासो व्यक्त गरेको उनले जानकारी दिए।

महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *