फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतारा नजिक बिहान सवा २ बजेतिर बीए १५८२ नम्बरको कार फेवातालमा खसेकाे थियो ।

दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

कार अनियन्त्रित भई तालमा खसेको थियो । दुर्घटनाको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट गाेताखोरसहितको २१ जनाको टोली उद्धारमा खटिएको थियो ।

गोताखोर टोलीले गुरुङलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *