काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले मातहकतका संस्थाहरुमा आफ्नै कार्यकर्ता भर्ती गर्नुपर्छ भनेर गलत परम्पराको सुरुवात गर्न खोजेको बताएका हुन् । सांसद सिंहले नेपाल राष्ट्र बैंकभित्रैबाट गभर्नर बनाउन सरकारालई सुझाव दिए । कार्यकर्तालाई नै सरकारी संस्थामा नियुक्ति गरिने हो भने आगामी दिनमा अदालतमा पनि सोही प्रभाव पर्ने उनले बताए ।
‘अहिले गभर्नको नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाउँछ । तर, हाम्रो सरकार लजाएन । कुनै पनि राजनीति दलको सदस्य गभर्नर हुन सक्दैन । राष्ट्र बैंक यत्रो वर्षदेखि चलिरहेको छ । त्यहाँभित्र कोही विज्ञ छैन ? त्यहाँभित्रबाट गर्यो भने पाप लाग्छ ? बाहिरको मान्छे गर्नुपर्यो, आफ्नै दलको कार्यकर्ता गर्नुपर्यो ? यो परम्परा बस्यो भने अदालतमा पनि यो परम्परा सुरु हुन्छ,’– उनले भने ।
सांसद सिंहले सरकारले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको भन्दै आपत्ति जनाए । ऐनले नै प्रष्टरुमा दलको कार्यकर्तालाई गभर्नर बनाउन नमिल्ने व्यवस्था
गरेको पनि उनले बताए । स्वैच्छाचारी नीति लिएर दलीय भागबण्डामा, आफ्नै कार्यकर्ताबाट मात्रै संस्था सुरक्षित रहने भन्ने सरकारको नियत गलत रहेको उनले बताए । उनले कायममुकायम गभर्नर निलम ढुङ्गानालाई गभर्नर नियुक्ति गर्न सरकारलाई सुझाव दिए । ‘त्यहाँको डेपु्टी गभर्नर छ । उसलाई बनाइदिए के फरक पर्छ । महिला भएको कारणले उसलाई बनाउन मिल्दैन ? यहाँ ऐनको सिधा उल्लङ्घन भएको छ । सरकारलाई ऐन उल्लङ्घन गर्ने छुट छैन,’– उनले भने ।