प्रतिनिधिसभाको शून्य समयमा कसले के भने ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरुले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राखेका छन्। सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिका पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यथेष्ट बजेट विनियोजन गर्न आग्रह गरिन् । सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले छिटो विधेयक पारित गर्नुपर्ने बताए । सांसद भीमप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र पुनःनिर्माणको पखाइमा रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिए । सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तरराष्ट्रिय रङ्गशालाको निर्माणकार्य ढिलो भएकाले यथासक्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरे । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीको चपेटामा परेको उल्लेख गर्दै त्यहाँ सिँचाइ व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले ध्यानाकर्षण गराए । त्यसैगरी सांसद महेशकुमार बर्तौला नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । उनले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधारमान्दै त्यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । सांसद महेश बस्नेतले मुलुकको पहाडी जिल्लाको सुख्खाग्रस्त विभिन्न स्थानमा लिफ्ट खानेपानी प्रणाली सञ्चालन भएपनि यसको विद्युत महसुल महङ्गो भएकाले खानेपानी प्रयोगको हकमा विद्युत् महसुल कम गर्नुपर्ने बताए । सांसद माधव सापकोटाले धान रोप्ने तयारी भएको समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गरे । उनले किसानले बेचेको दूधको पैसा डिडिसीले छ महिनादेखि नदिएकाले तत्काल किसानलाई भुक्तानी दिइयोस् भने । सांसल मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको र त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने भएको चर्चा गर्र्दै आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका पक्षमा आपसी सहमतिका साथ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे । सांसद मेनकाकुमारी पोखरेलले लागुऔषध कारोबारमा युवाको बढी संलग्नता पाइएकाले त्यसतर्फ बेलैमा ध्यान अनुरोध गरिन् । सांसद रञ्जुकुमारी झाले आउँदो बजेटमा बालबालिकाको लागि पोषणभत्ता बढाउनुपर्ने माग गरिन् । शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले विभिन्न समसामयिक विषय सदनको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *