नियमित रोक्न खोजे विशेष महाधिवेशन हुन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन हुने बताएका छन् । सोमबार काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशन अवरुद्ध बनाउने प्रयास गरिए देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन गर्ने बताएका हुन् ।

उनले महाधिवेशन नगरी चुनावमा जाने अवस्था नबन्ने बताए । उनले भने, ‘नियतवश अवरुद्ध गरे देशभरका कार्यकर्ता आएर विशेष महाधिवेशन हुन्छ । त्यसले एउटा परिणाम निकाल्छ ।’

महामन्त्री थापाले आफू १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार भएकाले सबैले सहयोग गर्ने अपेक्षा गरेको बताए । उनले भने, ‘म १५ औं महाधिवेशनको पार्टी सभापतिको उम्मेदवार हुँ । महाधिवेशन आन्तरिक कुरा मात्र होइन । अधिवेशन नेतृत्व नयाँ बनाउने कुरा मात्र होइन पार्टी नयाँ बनाउने काम पनि हो ।’

महामन्त्री थापाले यो महाधिवेशनमा दोस्रो चरणमा प्रवेश नगरी पहिलो चरणमै टुंग्याउने गरी सहयोग गर्नसमेत आग्रह गरे । महामन्त्री थापाले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्न कांग्रेस लाग्नुपर्ने बताए ।

उनले अहिलेसम्म भएका गल्तीप्रति सबैले क्षमा माग्नुपर्ने बताए । उनले भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *