सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विघटित संसद् पुनर्स्थापना भए मुलुक पुनः पुरानै अस्थिरताको चक्रमा फस्ने भन्दै खबरदारी गरेका छन्।

शनिबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन नै अहिलेको संकटको एक मात्र निकास भएको जिकिर गरे।

उनले भने, ‘हामीले भनेका छौँ, सहज ढङ्गले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस (एकचोटी त मिच्चिसकेको छ केही हदसम्म) तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चूप लागेर बस्ने छैनौँ।’

उनले संसद् पुनर्स्थापनाको भ्रम नपाल्न आग्रह गर्दै यदि चुनाव बिथोल्ने प्रयास भए आफूहरू सडकमा आगो बाल्न बाध्य हुने चेतावनी दिए।

‘अहिले एकथरी मानिसहरू निर्वाचन भन्दा पनि संसद् पुनर्स्थापनाको कुरा लिएर अदालततिर गइरहेका छन्, यदि पुनर्स्थापना भयो भने सजिलै पुरानै सरकार बन्छ भन्ने भ्रम नपाले हुन्छ,’ दाहालले भने, ‘सजिलो छैन, अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो। यदि कसैले संविधान मिच्ने र निर्वाचन सार्ने दुस्साहस गर्छ भने हामी चुप लागेर बस्ने छैनौँ।’

दाहालले जेन-जीको असली अभिभावक माओवादी र कम्युनिस्ट आन्दोलन नै भएको दाबी गरे। सामाजिक सञ्जाल र मिडियामा स्टन्ट गरेको भरमा देश नचल्ने भन्दै उनले युवाहरूलाई भ्रममा नपर्न आग्रह गरे।

‘जेन-जी भनेको एउटा उमेर समूह हो, यो कुनै विचार वा संगठन होइन। हाम्रै बाआमा हुन् भन्ने ठानेर भ्रममा नपर्नुहोला,’ दाहालले भने, ‘जसले भ्रष्टाचारका विरुद्ध महाअभियान चलायो, जसले सुशासन र गणतन्त्रका लागि लडाइँ लड्यो, त्यो शक्ति नै जेन–जी पुस्ताको सही अभिभावक हो। कोही स्टन्टबाजको होहल्लाको पछि नलाग्नुस्।’

सभामा बोल्दै दाहालले १६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकताबद्ध भएर एक नम्बर पार्टी बनेको उद्घोष गरे। उनले ढाई सय वर्ष पुरानो राजतन्त्र ढाल्ने शक्ति आफूहरू नै भएको स्मरण गराउँदै यो शक्तिलाई जिस्क्याए परिणाम भयावह हुने चेतावनी दिए।

‘हामीले विगतका कमी कमजोरीको समीक्षा गरेर आएका छौँ। तर यो शक्तिलाई जिस्क्याइयो र संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ,’ उनले भने, ‘जसले जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र ल्यायो, त्यो शक्तिलाई कमजोर नठानियोस्।’

अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनलाई सबैले स्वीकार गरेर जानुको विकल्प नरहेको भन्दै उनले फागुन २१ गतेको निर्वाचन स्वच्छ र धाँधलीरहित हुनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *