काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक ५.७० अंकले बढेको हो । आज ०.२१ प्रतिशतले बजार बढेर २६२५.७० विन्दुमा कायम छ ।
बुधबार बजारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ । यसअनुरुप दिनभर ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ बराबरको कारोबार हुँदा ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच भएको छ । कारोबारको हिसाबले भने मंगलबारभन्दा कम देखियो ।
आज स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, नारायणी विकास बैंक, चिर्ख्वा हाईड्रोपावर र माइखोला हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, बढी गुमाउने कम्पनीमा अधिकांश जलविद्युत कम्पनीहरू देखिन्छन् । जसअन्तर्गत बाराही हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, ईष्टर्न हाइड्रोपावर, शुभम् पावर र १० प्रतिशतको एनआईएमबी डिवेञ्चर २०९० को सेयर उच्च गुमाउने शीर्ष स्थानमा रहे ।
यस्तै, समूहगत सूचकतर्फ बैंंकिङ, हाइड्रोपावर, लगानी, जीवन बीमा कम्पनीहरू, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, लघुवित्त, म्यूचुअल फण्ड र अन्य इन्डेक्स बढ्दा होटेल तथा पर्यटन, निर्जीवन बीमा समूहको भने घटेको छ ।
