काठमाडाैँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वको कार्यशैलीले तथ्य र सत्य बिचको दूरी बढाएको भन्दै अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कुनै आवेग वा ‘झोक’ को परिणाम नभएको स्पष्ट पारेका छन्।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै पोखरेलले पार्टी विधि, पद्धति र सामूहिक नेतृत्वबाट विचलित हुन लागेको खतरा देखेपछि आफूले सोचविचार गरेरै नेतृत्वमा दाबी गरेको बताए।
पोखरेलले आफ्नो उम्मेदवारीलाई बार्गेनिङ वा झ्वाँकका रूपमा नबुझ्न आग्रह गरे। ‘यो उम्मेदवारी कुनै झोक वा झ्वाँकमा गरिएको विषय होइन,’ उनले भने, ‘मैले पार्टी अध्यक्षसँग कुरा गरेर, पार्टी बैठकमा जानकारी गराएर औपचारिक रूपमै केन्द्रीय कार्यालयमा उम्मेदवारी दर्ता गराएको हुँ। हामी कुनै अस्वाभाविक रूपमा प्रस्तुत भएका छैनौँ।’
उनले पार्टीमा विचारबारे ठुलो विवाद नभए पनि विचारलाई व्यवहारमा लागू गर्ने नेतृत्वको शैली त्रुटिपूर्ण हुँदा असल विचार पनि ‘रुट’ सम्म पुग्न नसकेको टिप्पणी गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेलाई कम्युनिस्ट पार्टीका रूपमा बचाइराख्न सामूहिक नेतृत्व प्रणाली अनिवार्य रहेको जिकिर गरे।
‘सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने हो भने कुनै पनि दल, अझ कम्युनिस्ट पार्टी चल्न सक्दैन,’ उनले भने, ‘पार्टी विधि र पद्धतिबाट चल्नुपर्छ। सामूहिक नेतृत्व प्रणाली कमजोर बन्यो भने पार्टी नै रहँदैन। यही खतराबाट पार्टीलाई बचाउन हामी लागेका हौँ।’
