काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले राजा, महाराजाका आसेपासेहरुले युवा पुस्तालाई सम्मान गर्ने र अपमान गर्ने पार्टी उस्तै हुन् भन्ने प्रचार गरिरहेको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित जेनजी महोत्सव २०८२ उद्घाटन समारोहमा उनले युवा पुस्तालाई प्रेरित गर्ने र अपमान गर्ने पार्टी उस्तै उस्तै हुन् भन्ने प्रचार हिजोका राजा, महाराजा र उनका आसेपासे दलालहरुले गरिरहेको भन्दै यसलाई विचार गर्नु बताए।
उनले भने, ‘युवा पुस्तालाई अगाडि बढाउन चहाने, युवा पुस्तालाई प्रेरित गर्ने उनीहरुको भावनालाई सम्मान गर्ने पार्टी र उनीहरुको माग र भावनालाई अपमान गर्ने उस्तै उस्तै हुन् भन्ने कुरा कसले प्रचार गरिरहेको छ त्यो तपाईहरुले विचार गर्नु भएको होला। त्यो पनि तीनै हिजोका राजा, महाराजा र उनका आसेपासे उनीहरुका दलालहरुले गरिरहेको छ विचार गर्नु होला।’
यस्तै, उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अगाडि बढेको पनि बताए।
उनले भने, ‘यो देशमा जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा अब नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएका छौ। उतपादन वृद्धि गर्ने, कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने र नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको वातावरण बनाउने हामीले संकल्प पनि गरेका छौ।’
नेपाली कम्युनिष्ट पार्टी र त्यसको संयोजक युवाहरुको असली अभिभावक हो भन्ने कुरा बुझेर देशै भरिबाट हजारौं मान्छेहरु पार्टीमा आएको पनि उनको भनाई छ।
साथै, उनले देशको राजनीति भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको भन्दै आन्दोलनले नेपाली राजनीतिमा रहेको थुप्रै कमिलाई उजागर गर्ने र राजनीतिक दल र नेताहरुलाई समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको बताए।
उनले भने, ‘अहिले देशको राजनीति झण्डै झण्डै गएको भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यस क्रममा घटेका घटनाहरुको वरिपरि नै घुमि रहेको छ। सबै तिर जेनजी जेनजी नै भईरहेको छ। जेनजीले नेपाली राजनीतिमा रहेको थुप्रै कमि र सिमालाई उजागर गर्ने, हरेक राजनीतिक दल र नेताहरुलाई आफ्नै बारे समिक्षा गर्ने र रुपान्तरण गर्ने अवसर प्रदान गरेको छ।’
