निर्माण व्यवसायीकै कारण ठेक्का रुग्ण भए, छानबिन गरी कारबाही हुनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीकै कारण ठेक्का रुग्ण भएको बताएका छन् ।

नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ठेक्का रुग्ण बनाउने ठेकेदारलाई कुनै कारबाही नगरेको बताउँदै मन्त्री घिसिङले छानबिन भने गरिने बताए ।

“आयोजनाको तर्फबाट पनि रुग्ण भएका ठेक्का धेरै छन् । त्यस्तालाई पनि कारबाही गर्नुपर्छ,” उनले भने, “अहिले जति पनि ठेक्का तोडिएको छ र तोडिँदै छन्, त्यस्ता ठेक्का निर्माण व्यवसायीकै कारण रुग्ण भएका हुन् । कर्मचारीका कारण रुग्ण भएको ठेक्कामा कुनै कारबाही अघि बढाइएको छैन । त्यसमा छानबिन गरेर सम्बन्धि कर्मचारीलाई कारबाही गर्नुपर्छ ।”

निर्माण व्यवसायीका कारण २५० हारहारी ठेक्का रुग्ण भएको उनले बताए ।

यस्तै, उनले निर्माण व्यवसायीबिना देश विकास सम्भव नभएको बताए । यद्यपि, नेपालका निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको उनले बताए ।

“निर्माण व्यवसायीबिना ठूला काम सम्भव छैन, देशको विकास सम्भव छैन । राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय होस्,” उनले भने, “तर, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि  गर्न आवश्यक छ । अन्तर्राष्ट्रियस्तरको काम गर्न सक्ने क्षमता नेपाली निर्माण व्यवसायीमा हुनुपर्छ ।”

यस्तै, उनले कतिपय ठेक्कामा ठेकदार नै खोज्नुपर्ने अवस्था रहेको बताए । “कुनै रुग्ण ठेक्का व्यवस्थापन गरौँ भन्यो, ठेकदार भेटिँदैनन् । १०–१५ वर्षदेखि ठेक्का रुग्ण अवस्थामा छन,” उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *