काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको महाधिवेशनलाई पञ्चायती व्यवस्थाको गाउँ फर्क शैलीमा गर्न लागेको आरोप लगाएका छन्।
नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेता पाण्डेले अहिले पनि अध्यक्ष केपी ओलीलाई र पार्टीलाई अनावश्यक आरोप लगाउनेहरू विरुद्ध प्रतिवाद गर्ने र ओलीबाट भएका कमजोरीबारे आलोचना गर्ने, सुधार्ने नै गरिरहेको बताए।
‘नेतृत्व र पार्टीविरुद्ध जथाभावी गर्नेहरूविरुद्ध हाम्रो सामना सधैं रहन्छ, उहाँले धेरै राम्रो काम पनि गर्नुभएको छ तर कमजोरी नि भएका छन्, सधैं एकैजनाले पार्टीको नेतृत्व गरेर हुँदैन, नेतृत्व विकासका लागि समय दिएर अघि बढ्नुपर्दछ भन्ने विषयमा हामी प्रतिबद्ध छौं’, पाण्डेले भने।
उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको आराेप लगाए। वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे।
पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे। आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाइ छ।
१० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचिमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्याउन खोजेको आरोप लगाए।
नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए। पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिँदै गएको उल्लेख गरे।
नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ। चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए।
उनले कानूनमा नै राजनितिक दलमा एक पटकभन्दा बढी नेतृत्व गर्न नपाउनेगरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। पुरानामा मात्रै नभएर नयाँ राजनितिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए।
